images

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण साेधेकाे छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने शीर्ष नेतासहित ६ जना र ८ संस्थालाई स्पष्टीकरण सोधेको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सातौं तहका अधिकृत गोकुल वस्ती र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सिके राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधि सभा सदस्य नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीलाई पनि स्पष्टीकरण सोधेको हाे ।

यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।