काठमाडौं । खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ ।
सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन सो क्याबिनमा ।
तर यो कक्षमा भर्ना भएर उपचार गर्न कुनै पनि विशिष्ट व्यक्तित्व नआउँदा सो कक्ष खाली रहँदै आएको छ । सो कक्ष खाली भएको पनि एक दुई होइन, २६ वर्ष भएको छ ।
कुनै पनि बेला देशका विशिष्ट व्यक्तित्व उपचार गर्न आउन सक्ने सम्भावनामा अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी तैनाथ गरेको छ । क्याबिनभित्र आवश्यक सामान पनि तयार अवस्थामा छन् । तर, यो क्याबिन प्रतीक्षामै सीमित छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि कुनै पनि भिभिआइपीले सो कक्षमा उपचार सेवा लिएका छैनन् ।
‘दुवै राष्ट्रपतिले बहिरंग विभागमा आएर दाँत बनाएर गएका छन्, प्रधानमन्त्री कुनै पनि आएका छैनन्,’ वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने ।
भिभिआइपी बिरामीबाहेक अरूलाई दिन नमिल्ने भएकाले २६ वर्षदेखि क्याबिन खाली भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल नियमावलीअनुसार बहालवाला प्रधानमन्त्री, उपप्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख र उपसभामुखलाई यो क्याबिनमा उपचार गर्न मिल्छ ।
पञ्चायतकालमा राजा तथा राजपरिवार सदस्यले यो क्याबिनमा उपचार गरेको स्मरण पुराना चिकित्सकलाई छ । यो अस्पतालमा ३६ वर्षदेखि उपचार गर्दै आएका ग्यास्ट्रो सर्जन डा. सुबोध अधिकारीका अनुसार तत्कालीन रानी ऐश्वर्यले यही क्याबिनमै बसेर उपचार गराएकी थिइन् । ‘रानी ऐश्वर्य, राजा वीरेन्द्रका बहिनीज्वाइँ र सौतेनी आमापट्टिका छोराले पनि यही क्याबिनमा बसेर उपचार गराएका थिए,’ डा. अधिकारीले भने । राजाका ज्वाइँको पत्थरी र भाइको कलेजोको उपचार पनि सोही कक्षमा भएको थियो ।
पञ्चायती व्यवस्था अन्त्यसँगै यो क्याबिनमा भिभिआइपी आउन छोडेका छन् । नेपाली कांग्रेसका नेता गणेशमान सिंहले २०५७ सालमा सो कक्षमै उपचार गराएका थिए । तर, सिंह कुनै पदमा थिएनन् ।
अस्पतालमा भिभिआइपी क्याबिनसँगै भिआइपी क्याबिनको पनि व्यवस्था छ । तर सबै भिआइपी उपचार गर्न वीरमा आउँदैनन् । नियमअनुसार यो क्याबिन बहालवाला मन्त्री, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख आदिका लागि छुट्ट्याइएको हो ।
यद्यपि सो क्याबिनमा हाल पूर्वसभामुख तारानाथ रानाभाटले पिसाब थैलीको उपचार गराइरहेका छन् भने यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललगायतले पनि उपचार गराएका थिए ।
उतिसारो भिआइपी नआए पनि यो क्याबिनमा बेलाबखत सांसद भने भर्ना हुने गरेका निर्देशक बस्नेतले बताए । ‘समयसमयमा सांसदहरू आएर उपचार गराउनुहुन्छ, उहाँहरूलाई त्यहींबाट उपचार दिइरहेका छौं,’ उनले भने ।
भिभिआइपी र भिआइपी दुवै क्याबिनको लागि अस्पतालले निश्चित शुल्क तोकेको छ । जसअनुसार भिभिआइपी क्याबिनको दैनिक ३ देखि ८ हजार रुपैयाँ तिर्नुपर्छ भने भिआइपीका लागि दैनिक २५ सय रुपैयाँ लाग्छ । अस्पतालले नर्सिङ खर्च र सफाइ खर्चका लागि वार्षिक तीस लाखभन्दा बढी रुपैयाँ यी क्याबिनका लागि खर्च गर्छ ।
भिभिआइपी आउन छाडेपछि अस्पतालले सो क्याबिनलाई तयारी अवस्थामा राख्न छाडेको थियो । तर, दुई वर्षअघि काठमाडौंमा सम्पन्न सार्क सम्मेलनलाई लक्षित गरी सरकारले ५० लाख रुपैयाँ लगानीमा क्याबिनलाई पुनः मर्मतसम्भार गरेको हो ।
सुविधासम्पन्न भईकन पनि क्याबिनमा भिभिआइपीहरू उपचारका लागि नआउँदा अस्पताल र बिरामी सबैलाई मर्का परेको चिकित्सकहरू बताउँछन् । ‘क्याबिनमा बिरामी भर्ना नहुँदा प्रत्यक्षतः अस्पताललाई र साथै बिरामीलाई पनि मर्का परेको छ,’ अस्पतालका पूर्वनिर्देशक डा. स्वयंप्रकाश पण्डितले भने, ‘खाली नभएका भए कम्तीमा दश÷बाह्र बिरामीले उपचार पाउँथे ।’
यी क्याबिनका लागि तयारी अवस्थामा राखिने नर्सिङ कर्मचारी र हेरचाह खर्चको पनि उपयोग नभएको उनले बताए । भिभिआइपी नआउने हो भने क्याबिनको स्वरूप परिवर्तन गरी अन्य बिरामीका लागि सो ठाउँ उपयोग गर्न सकिएमा बिरामीले उपचार पाउन सक्ने अस्पतालका अर्का चिकित्सक बताउँछन् ।
कुनै पनि भिआइपी कक्षमा हुनुपर्ने जति सबै सुविधा वीर अस्पतालको सो क्याबिनमा हुँदाहुँदै पनि किन उपचारका लागि कोही भिभिआइपी आउँदैनन् भन्ने विषयमा चिकित्सकको आआफ्नै अड्कल छ । ‘बहिरंग सेवामा दुवै राष्ट्रपतिले दाँतको उपचार गरेर गएका छन्, कति रोगको उपचार गर्न नमिलेर पनि नआएका हुन सक्छन्,’ निर्देशक बस्नेतले भने ।
अस्पतालका पूर्वनिर्देशक पण्डित भने सबैजसो उपचार भएर पनि नआउनुका कारण वीरप्रतिको विश्वास नभएको अनुमान गर्छन् । ‘सबै उपकरण छन्, सबै खालका रोगको उपचार हुन्छ । तर वीर अस्पतालप्रति विश्वास नभएर हो कि, उहाँहरू नआउनुभएको ?’ डा. पण्डितले भने । पर्याप्त निजी अस्पताल खुलेका कारण भिभिआइपी पनि त्यतै तानिएको अस्पतालका पुराना एक चिकित्सकले बताए । ‘पञ्चायतकालमा योबाहेक अर्को अस्पताल थिएन, जटिल बिरामी भएपछि यहीं आउँथे,’ अस्पताल भिभिआइपी क्याबिनकी इन्चार्ज सरु अर्यालले भनिन् ।