images

चीन–अमेरिका दुबै देशले मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने चिनियाँ राष्ट्रपति सी जिनफिङको प्रस्ताव

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट तेस्रो कार्यकालका लागि फेरि निर्वाचित चिनियाँ राष्ट्रपति सी जिनफिङले अमेरिका र चीन दुवैंले मेलमिलापको बाटो खोज्नुपर्ने बताएका छन् ।

विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले यस्तो बाटो अबलम्बन गर्नुपर्ने राष्ट्रपति सीले बताएका हुन् । अमेरिका-चीन सम्बन्ध राष्ट्रिय समितिको वार्षिक उत्सवमा बधाइ दिँदै राष्ट्रपति सीले लेखेको पत्रमा त्यस्तो प्रस्ताव राखिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, अमेरिकासँग मिलेर काम गर्न तथा पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्वक सहअस्तित्वमा रहन चीन इच्छुक रहेको राष्ट्रपति सीले जनाएका छन् । यसो गर्दा दुवै देशका लागि मात्र नभएर विश्वलाई नै फाइदा हुने उनले विश्वास व्यक्त गरेका छन् ।

आजको संसार शान्तिपूर्ण नरहेको भन्दै प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाबीच सञ्चार र सहयोगलाई सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।

साथै दुई प्रमुख शक्तिबीच सम्बन्ध र सहयोगका कारण विश्वव्यापी स्थायित्व र विश्व शान्ति प्रवर्द्धन हुनेमा उनले विश्वास व्यक्त गरेका अन्तराष्टिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण, रुस(युक्रेन युद्धलाई लिएर दुई देशहरू तनाव उत्पन्न भईरहेका बेला चिनियाँ राष्ट्रपति सीको यस्तो प्रस्ताव सार्वजनिक भएको हो ।