images

रवि लामिछानेको स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौं, १२ कार्तिक । निर्वाचन आयोगले ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको छ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायत आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेकाले उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा ६ सँग सम्बन्धित अनुसूची ६ बमोजिमको स्वघोषणाको घ मा कुनै संघीय कानुनले अयोग्य नभएको र ‘च’ मा सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको भनी स्वघोषणा गरी सहीछाप समेत गरेकोमा सो आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी निज डा. कार्की नेपाल मेडिकल काउन्सिलबाट बैठक भत्ता र भ्रमण भत्ता लिनु खानु गरिरहेको देखिएकोले निजले सार्वजनिक पद धारण नगरेको र लाभको पदमा बहाल नरहेको भन्ने देखिन आएन,’ आयोगको विज्ञप्तिमा भनिएको छ।

तसर्थ प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय ङ मा भएको कानुनी व्यवस्था बमोजिम उनको उम्मेदवार हुने योग्यता नपुगेको निष्कर्ष आयोगले निकालेको छ।