images

१० महिनामा भित्रिए चार लाख ७३ हजार ५६३ पर्यटक

काठमाडौं । पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए ।

सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए ।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।

पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको र सोअनुसार पर्यटक आगमन भइरहेको बताए । उनले यही दरमा पर्यटक भित्रिए यो वर्ष छ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिने बताए ।