images

प्रतिनिधिसभामा कर्णालीबाट एमालेको जित शुन्य

सुर्खेत, ९ मंसिर । कर्णाली प्रदेशबाट नेकपा (एमाले) का कुनै पनि उम्मेदवारले नजित्दा यस प्रदेशबाट शुन्य भएको छ । २०७४ को निर्वाचनमा यस प्रदेशबाट प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो दल बनेको एमालेले यसपटक भने प्रतिनिधि सभाका सबै सिट गुमाउने निश्चित छ । अहिलेसम्म कुनै पनि जिल्लामा विजय हासिल गर्न नसकेको र मतगणना भइरहेका क्षेत्रमा पनि एमालेको अग्रता निकै कमजोर भएकोले यस प्रदेशबाट एमालेको प्रत्यक्षमा प्रतिनिधित्व शुन्य हुने देखिएको हो ।

नेकपा एमालेले २०७४ मा १२ मध्ये ६ सिट जितेर पहिलो भएको थियो । ०७४ मा दैलेख र सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा जितेको एमालेले यसपटक चारवटै सिट गुमाएको छ । एमालेले यसअघि जितेको डोल्पा र सल्यानमा पनि यसपटक जित हासिल गर्न सकेन । २०७४ को निर्वाचनमा डोल्पा र सल्यानबाट जितेका एमाले उम्मेदवारहरु यसपटक पार्टी फुटेर एकीकृत समाजवादीतर्फ लागेपछि एमालेले अरु उम्मेदवारहरु उठाएको थियो । यसअघिको निर्वाचनमा सल्यानबाट नेता प्रकाश ज्वाला र डोल्पाबाट धनबहादुर बुढाले जितेका थिए । यसपटक दुबै जना एकीकृत समाजवादीबाट सोही क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा निर्वाति भएका छन् ।

मतगणना गर्न बाँकी रहेका मुगु, कालिकोट, हुम्ला र रुकुम पश्चिममा पनि नेकपा एमाले निकै कमजोर अवस्थामा छ ।

दैलेखबाट यसपटक एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्बरबहादुर थापाले यसअघि एमालेबाट विजयी उम्मेदवार रविन्द्र शर्मालाई पराजित गरेका छन । अम्बरबहादुर थापाले १८ हजार २ सय ९७ मत ल्याउँदा रविन्द्र शर्माले १७ हजार ४ सय ३७ मत पाएका छन् । त्यस्तै दैलेख क्षेत्र २ मा पनि कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार १ सय ५८ मत ल्याएर एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरेका छन् । पोखरेलले २० हजार ५ मत प्राप्त गरेर पराजित भएका हुन्।

सुर्खेत–१ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले ४२ हजार ६ सय ७ मत पाएर एमालेका ध्रुवकुमार शाहीलाई पराजित गरेका छन् । शाहीले ३० हजार ९ सय ८८ मत ल्याएका छन् ।

त्यस्तै सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानीले ३४ हजार ६ सय २५ मत ल्याएर एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसीलाई पराजित गरेका छन् ।

डोल्पामा २०७४ को निर्वाचनमा एमालेबाट जितेका धनबहादुर बुढाले यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार बनेर ११ हजार २ सय २५ मत ल्याएर एमालेका गणेशबहादुर शाहीलाई भारी अन्तरले पराजित गरेका छन् । डोल्पामा एमालेका उम्मेदवार शाहीले जम्मा ५ हजार ४ सय ९८ मत प्राप्त गरेका छन् ।