images
images

पाँच महिनापछि हालियो मेलम्चीको सुरूङमा पानी

काठमाडौं, १२ मंसिर । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ।

असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने पनि उनले सुनाए।

आइतबार साँझदेखि हालेको पानीले सुरूमा सुरूङ सफा गर्नेछ। सुरूङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ।

पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ।

यो सञ्जालमार्फत् अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्। वर्षामा बाढी आएर सुरूङ मार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।

विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो। विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।

मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदका समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS