images

इन्द्रचोकमा दुई चिनियाँ नागरिकमाथि चक्कुप्रहार, घाइतेको अवस्था चिन्ताजनक

काठमाडौं, १७ मंसिर । काठमाडौंको इन्द्रचोकमा एक जना चिनियाँ नागरिकले अन्य दुईजना चिनियाँ नागरिकमाथि धारिलो हतियार प्रहार गरेका छन् ।

आइतबार बिहान करिव ११ बजे इन्द्रचोकमा हिडिरहेका दुईजनामाथि अर्का चिनिया नागरिकले आक्रमण गरेका हुन् । चक्कु प्रहारबाट उनीहरु गम्भीर घाइते भएका छन् । प्रहरीले एकजनाको छाती र एकजनाको पेटमा चक्कुप्रहार भएको जनाएको छ । आक्रमण गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरि न्यूरोडस्थित जनसेवा प्रहरी कार्यालयमा राखेको छ । प्रहरीले आक्रमणमा प्रयोग गरिएको हतियार समेत जफत गरेको जनाएको छ ।

आक्रमणबाट घाइते भएका दुबै चिनियाँ नागरिकहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । त्यसमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुको साथमा भेटिएको परिचय पत्रका आधारमा घाइते मध्ये एकजना चिनको हुनान प्रान्त र अर्का घाइते चिनको हेलुङज्याङमा ठेगाना रहेको खुलेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने ३८ वर्षीय फङचङ युन नाम गरेका चिनियाँ नागरिक हुन । उनले पैसाको लेनदेन र व्यक्तिगत रिसिबीका कारण आक्रमण गरेको प्रहरीलाई बताएका छन् ।

प्रहरीले उनीहरुमाथि थप अन्य अनुसन्धान गरिने जनाएको छ । आक्रमणकारी र घाइते सबै चिनियाँहरु गएराति ठमेलमा फरक फरक होटलमा बसेको प्रहरीले जनाएको छ । उनीहरु सबै केही दिन अघिमात्र चिनबाट नेपाल आइपुगेको खुलेको छ ।

घाइते भएकाहरुका केही अन्य चिनियाँ साथीहरु पनि काठमाडौंमै रहेको खुलेको छ । आक्रमणका बेला केही अन्य चिनियाँहरु पनि घटनास्थलमै रहेका थिए । उनीहरुले आक्रमणकारीका साथमा अर्का एक चिनियाँ नागरिक पनि सँगै देखिएको तर उनी आक्रमणमा सहभागी नभई भागेको बताएका छन् । इन्द्रचोकका स्थानीयले आक्रमणकारीलाई समातेपछि उनको साथमा रहेका अर्का नागरिक फरार भएको बुझिएको छ ।

घाइतेसँग रहेका अन्य चिनियाँ नागरिकहरुले प्रहरीसँगको बयानमा आफूहरुमाथि थप आक्रमण हुन सक्ने भएकोले सुरक्षा चाहिएको पनि बताएका छन् । पक्राउ परेका आक्रमणकारीले पनि बयानमा अन्य चिनियाँलाई समेत आक्रमण गर्ने योजना रहेको संकेत गरेका छन् । पक्राउ परेर प्रहरीमा पुगेपछि पनि उनले पटक पटक घाइते मर्यो कि मरेन भनेर सोधिरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले आक्रमणकारी एक्लै नभएर उनका अन्य साथीहरु पनि बाहिर रहेको र घटना अझै घटन सक्ने अनुमान गरेको छ ।

रोचक त यो छ कि यो घाइते हुनेहरुका दुई जना साथी चिनियाँ नभएर अन्य देशका पनि भेटिएका छन् । आक्रमणपछि दुई जना जाम्बियाका नागरिक समेत प्रहरीमा पुगेका थिए । उनीहरुले घाइते आफ्नो साथी भएको बताएका छन् ।