images

गठबन्धनलाई अझ मजबुत बनाएर अघि बढ्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ, १९ मंसिर । सत्तारुढ गठबन्धनको बैठकले दलहरु बीचको सहकार्यलाई अझ मजबुत बनाउने निर्णय गरेको छ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपछि पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको पछि गठबन्धनमा सहभागी चार दलका शिर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई अझ पुष्टि गरेको बताएका छन् ।

यो सहकार्यले लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण निर्माण हुँदै गएको चार दलको बैठकले निष्कर्ष निकालेको छ ।

यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ, मुलुकका सामु विद्यमान चुनौतीहरूको सामाना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ, निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।’

यस्तै, निर्वाचनमा गठबन्धनभित्र असहयोग र असमझदारीका घटना देखा परेको जनाइएको छ । ती घटनालाई आगामी दिनमा समाधान गर्ने गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गठबन्धनले मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

विज्ञप्तिमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।