images

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सामानहरु रातारात दाङ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सामानहरु रातारात दाङको भालुवाङ पुर्याइएको छ । गएराती तीन वटा ट्रकमा सामानहरू दाङ पुर्‍याइएको हो।

यसअघि लुम्बिनी प्रदेश सभाले यस प्रदेशको राजधानी भालुवाङमा राख्ने निर्णय गरिसकेको थियो । तर, स्थायी पुर्वाधार नबनेका कारण प्रदेश सरकारका कुनै पनि कार्यालय सरेका थिएनन ।

प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल सकिनै लाग्दा मन्त्रिपरिषदको कार्यालयका सामानहरु भालुवाङ सारेपछि सामाजिक सन्जालमा उनको पक्ष र विपक्षमा व्यापक टिप्पणी भइरहेको छ । मुख्यमन्त्री केसी निकट स्रोतले अब प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, अन्य मन्त्रालयका काम दाङबाटै सुरु गर्ने तयारी भएको जानकारी दिएको छ ।

मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले दाङको देउखुरीमा कार्यालयहरुको मर्मत संभार तीव्र भएको भन्दै अहिलेलाई मुख्यमन्त्री कार्यालय तर्फको निजी सचिवालय तर्फको सामान लगेको जानकारी दिएका छन् ।

राजधानीको संरचना सार्ने तयारी भइरहँदा जिल्लाका प्रदेश सांसद, रुपन्देही कांग्रेस र एमालेले विरोध जनाएका छन्।

केही दिन अघि प्रदेश सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्न माग गरेको थिए।

यस्तै, कांग्रेस र एमालेका जिल्ला समितिहरुले पनि राजधानी सार्ने काम रोक्न माग गरेका थिए। तर, दाङ र त्यस वरपरका जिल्लाका सासदहरुले भने यसअघि प्रदेश सभाले निर्णय गरिसकेकोले प्रदेशको राजधानी भालुवाङमा छिटो स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् ।