images

प्रचण्डलाई प्रधानमन्त्री बन्न १७० जना सांसदको समर्थन

काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । १७० जना सांसदको समर्थनमा प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन् ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुईभन्दा बढी दलको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी गरी १७० सांसदको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।

त्यसैगरी स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेका छन् । प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रधानमन्त्रीका रुपमा प्रचण्डले सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।