images

सूर्या ४२ को हिन्दी राइट्स सय करोडमा बिक्री

मुम्बई । ‘सूर्यम’, ‘सिरूथाई’, ‘वीरम’, ‘वेदालम’ र ‘विश्वासम’ जस्ता फिल्म बनाएपछि सिवा पहिलोपटक तमिल सुपरस्टार सूर्यासँग काम गर्दैछन् । ‘सूर्या ४२’ नाम रहेको फिल्मको घोषणा गत सेप्टेम्बरमा भएको थियो । थ्रीडी फर्म्याटमा बनिरहेको फिल्म १० भाषामा रिलिज हुँदैछ । फिल्ममा दिशा पाटनीको पनि अभिनय रहेको छ ।

पुनर्जन्ममा आधारित फिल्म एक्सनपरक छ । यो फिल्मको हिन्दी राइट्स पेन स्टुडियोका मालिक जयन्तीलाल गडाले सय करोडमा खरिद गरेका छन् । तमिल फिल्म उद्योगमा यति महंगो मूल्यमा हिन्दी राइट्स किनिएको यो पहिलो फिल्म हो ।

फिल्मको लागत २ सय करोड छ । फिल्ममा सूर्या पाँचवटा भूमिकामा देखिँदैछन् । फिल्मको कथा आजको समय र एक हजार वर्षअघिको घटना वरपर घुमेको छ ।

यसअघि पेन स्टुडियोले ‘आरआरआर’को हिन्दी राइट्स १ सय ४० करोडमा किनेको थियो । फिल्मले हिन्दी बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड कलेक्सन गरेको थियो ।