images

किताव लेख्ने मुडमा रिमा विश्वकर्मा

काठमाडौं । रिमा विश्वकर्मा अभिनय र सञ्चारकर्ममा चिरपरिचित नाम हो । पुस्तक पढ्न उनलाई रुची छ, जुन कुरा उनैले सार्वजनिक रुपमा सुनाउँदै आएकी छिन । तर अव उनलाई किताव लेखुँ लेखुँ लाग्न थालेको छ ।

पुस्तक लेख्न मन लागेको कुरा उनैले शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेकी हुन । कार्यक्रम थियोः भावना कँडेलको पहिलो उपन्यास “फेक स्माइलको विमोचन” । “मलाई लेखुँ लेखुँ त लागिरहन्थ्यो तर सामाजिक सञ्जालमा स्टाटस बाहेक केही लेख्न सकेको छैन ।” उनले भनिन “तर अब लेख्छु” ।

रिमाले किताव लेख्ने प्रेरणा भावना कँडेलले जगाइदिएको बताइन ।

“भावनाजीले सानै उमेरमा जुन शैलीमा लेख्नु भा छ, यसबाट म प्रेरित छु ।” उनले लेखिका कँडेलले विमोचन कार्यक्रममा अतिथि बनाए जस्तै आँफुले पनि आफ्नो कितावको विमोचन कार्यक्रममा भावनालाई अतिथिका रुपमा बोलाउने योजना सुनाइन ।

भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” आजबाटै बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकको अत्याधिक माग बढेपछि विमोचन अघि नै दोस्रो संस्करण निकालिसकिएको छ । कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताए । समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यासमा रहेका जीवन जगत र प्रेमसम्बन्धी केही लाइनले आफ्नो मन जितेको बताइन । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले लेखनमा भावनाको भविष्य रहेको बताए ।

लेखक भावना कँडेलले कोरोना कालमा लकडाउनका बेला उपन्यास लेखेको बताइन । सो क्रममा उनले व्यवसायसँग लेखन कार्यलाई निरन्तरता दिने योजना रहेको पनि सुनाइन ।।