images

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी ‘श्रीपञ्चमी’ मनाइँदै

काठमाडौँ । आज ‘श्रीपञ्चमी’ विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरी मनाइँदैछ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन ‘श्रीपञ्चमी’ पर्व मनाइन्छ ।

आज देशभर सरस्वतीका मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । बिशेषगरि देवि सरस्वतीलाई बिद्यार्थीहरुले बिद्याकी देवीको रुपमा पुज्ने गर्दछन् । आजको दिन बिद्यालय जाने उमेर पुगेका बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन पनि छ।

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। जसकाकारण अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

आजकाे दिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन पनि छ ।

आजको दिन सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।

विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ(आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ।