एजेन्सी । सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ ।
उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ । नाचेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।
भिडिओमा उनीहरू राजधानी तेहरानस्थित फ्रीडम टावर अगाडि नाचेको देखिन्छन । इरान सरकारले महिलालाई पुरुषसँग एक्लै नाच्न अनुमति दिएको छैन ।
इरानका २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको बताइएको छ ।
पक्राउ पर्नुअघि पेसाले आफूलाई फेसन डिजाइनर बताउने हकीकीको घरमा प्रहरीले छापा मारेको थियो ।
उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि संयुक्त रूपमा साढे १० वर्षको सजाय सुनाइएको अमेरिकास्थित ह्यूमन राइट्स एक्टिविस्ट्स न्यूज एजेंसीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।