images

प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने उमेर १८ बर्ष बनाउन पूर्व कानूनमन्त्री पौडेलको प्रस्ताव

काठमाडौं । पूर्व कानूनमन्त्री माधव पौडेलले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रश्ताव राख्नुभएको छ ।

बुधवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताउनु भयो । उहाँले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने बताउनुभयो ।

उहाँले विद्युतीय निर्वाचनलाई शुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रुपमा प्रयोग गरिरहेको बताउनु भयो ।