images

नेपाल र मलेसिया बीचको सम्बन्धलाई नयाँ स्तरमा लानुपर्नेमा प्रधानमन्त्रीको जोड, श्रम समझदारी परिमार्जन गर्न दुबै देश सहमत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा आएका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच भेटवार्ता भएको छ।

दुई नेता बीच शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय शिष्टाचार भेटवार्ता भएको हो। भेटमा नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्न सहमति भएको छ । भेटमा फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिकहरू इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरे ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र मलेसिया बीचको सम्बन्धलाई नयाँ स्तरमा लानुपर्नेमा जोड दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जवाफमा मन्त्री इजमाइलले नेपालका श्रमिकले मलेसिया विकासमा अतुलनीय योगदान पुर्याएकोले नेपाल उच्च प्राथमिकतामा रहेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेशिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताए।

उनले नेपाली श्रमिकको प्रशंसा गर्दै कामदारहरूलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताए ।