images

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली किशोरीको उद्धार

काठमाडौं । बलि दिने आशंकामा भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली किशोरीको उद्धार गरिएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको नयाँदिल्लीस्थित मङ्गलबजार गल्लीबाट ती किशोरीलाई मङ्गलबार उद्धार गरिएको हो।

‘बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनिएको रहेछ’, ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले भने, ‘भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भएरनभएको परीक्षण गरिएको रहेछ।’

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो।

६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दामाथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी भएको थियो। त्यसक्रममा उनलाई भेटाएको बयान अभियुक्तहरुले दिएका थिए।

‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ’, उनले भने, ‘उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ।’

बालिकालाई भने यसबारे जानकार नभएको उनले बताए। ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ’, उनले भने,’दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो।’

पीडितलाई उनीहरुले मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याएको खुलेको छ। पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो।

पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याएको प्रहरीको भनाइ छ।

भारत पुर्‍याएपछि विभिन्न तीन स्थानका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा उनलाई लगिएको थियो।

आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण उनी मामाघरमा बस्दै आएकी थिइन। उनलाई प्रलोभन देखाउनेमा उनकै नजिकका साथी र महिला संलग्न रहेको खुलेको छ।

प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको श्रेष्ठले जानकारी दिए। अझै अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।