images

समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन आपूर्तिमन्त्री भण्डारीको जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल मुद्रण उद्योग महासङ्घको नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रसँग हातेमालो नगरी आर्थिक समृद्धि हुन नसक्ने बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा देखिएका राष्ट्रिय समस्या समाधानका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उद्योग सम्बद्ध कानुनको पुनरावलोकन गरिने उल्लेख गर्दै उद्योग मन्त्रालयबाट औद्योगिक ग्रामहरु सञ्चालनमा ल्याउने कार्य लगातार अघि बढिरहेको जानकारी गराउनुभयो । साथै उहाँले युवा उद्यमीलाई सहजीकरण गर्न सरकारले छरिएर रहेका कोषलाई एकीकृत गरेर कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

मन्त्री भण्डारीले १५औँ योजना र वार्षिक बजेट बमोजिमका लक्ष्यअनुरुप उद्योग क्षेत्रमा कूल गार्हस्थ्य उत्पादनमा योगदान बढाउनका लागि पनि हरेक क्षेत्रमा औद्योगिक विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।