images

राष्ट्रपतिका लागी विचार मिल्नेसँग सहकार्य गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा यस विषयमा छलफल भएको हो । बैठकपछि नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयो ।

त्यस्तै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा संगठन सुदृढीकरणका लागि दुई महिना सबै नेताहरु जनताको घरदैलोमा जाने निर्णय गरेको बताउनुभयो । उहाँले यस अभियानमा चुनावी अन्तरघातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताउनु भयो ।

उपाध्यक्ष महराले संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरु परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने बताउनु भयो ।