images

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी , टर्कीमा ३ महिने संकटकाल लागू

एजेन्सी । टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या आठ हजार भन्दा बढी पुगेको छ ।

सिरियामा मात्रै १९ सय जना भन्दा बढीको मृत्यु भएको भएको हो । भग्नावशेषमा हजारौं मानिसहरू च्यापिएकाले मृतकको संख्या बढ्ने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्प गए लगत्तै टर्कीमा ३ महिने संकटकाल लागू गरिएको छ । भूकम्पको चपेटामा परेको टर्कीका लागि विश्वका धेरै राष्ट्रले आर्थिक सहयोग गरिरहेका छन् । चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

आपत्कालीन सहायता अन्तर्गत उक्त रकम टर्कीलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रस सोसाइटीले टर्की र सिरियालाई २ लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्की र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको जनाएको छ ।

यसैबीच, टर्कीले ७ दिने शोक घोषणा गर्दै उद्धार र राहत कार्यमा सहयोग गर्न विश्व समुदायलाई आह्वान गरेको छ । भूकम्पमा परी मृत्यु हुनेको शव सडकमै राख्न थालिएको छ ।

उद्धार कार्यलाई तीव्रता दिनका लागि मृत्यु भएकाहरुको शव व्यवस्थापन पछि गरिने टर्की सरकारले निर्णय गर्दै मृत्यु हुनेहरुको शव सडकमै राख्न थालिएको हो । संयुक्त राष्ट्रसंघले भूकम्पमा मृत्यु हुुनेमा बालबालिकाको संख्या अत्यधिक रहेको जनाएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयपले प्रभावित १० प्रान्तमा ३ महिने आपतकाल घोषणा गरेका छन् ।

यसैबीच टर्कीलाई हालसम्म ७० राष्ट्रहरुले सहायता पठाइसकेका छन् । अन्य राष्ट्रहरुले सहयोगको घोषणा गरिसकेका छन् । यता भग्नावशेषम च्यापिएकाहरुको खोजीकार्यमा परिवारजन नै लागि परेका छन् । टर्कीमा तापक्रम घट्ने क्रम जारी रहेकै बेला आएको विनाशकारी भूकम्पका कारण प्रभावितहरुको बिचल्ली भएको छ ।