images

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो, भग्नावशेषमा पुरिएकाहरुलाइ जीवितै भेटाउने आशा न्यून

एजेन्सी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ ।

टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५७ रहेको छ । सिरियामा ज्यान गुमाउनेको संख्या पुष्टि गर्न गाह्रो भइरहेको छ तर सरकारी सञ्चारमाध्यमहरूले झन्डै २५ सय जनाको ज्यान गुमाएका उल्लेख गरेको बीबीसीले जनाएको छ ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न देशले सहयोगी टोली परिचालन गरेका छन् । खोजी र उद्धार कार्य निरन्तर भइरहँदा एक ८ वर्षीय बालकको ५२ घण्टापछि जीवितै उद्धार भएको छ ।

बीबीसीका अनुसार भूकम्पले भत्केको भवनको भग्नावशेषबाट ती बालकको ५२ घण्टापछि जीवितै उद्धार गरिएको हो । यिजित केकम्याकको उद्धार भइरहँदा उनलाई उनकी आमाले कुरिरहेकी थिइन । छोरालाई भग्नावशेषबाट सकुशल निकालेपछि आमाले भक्कानिएर अंकमाल गरेकी थिइन्। आमा भेट्दा ती बालक पनि निकै भक्कानिएका थिए ।

टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले देशको दक्षिण क्षेत्रका १० वटा प्रान्तमा तीन महिनाका लागि संकटकाल घोषणा गरेका छन् ।