images

निहारिका राजपुत र शिवराजले जानकी मन्दिरमा गरे बिवाह

काठमाडौं । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुत र शिवराज श्रेष्ठले बिवाह गरेका छन् ।

उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर बिवाह गरेका हुन् ।

बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।

तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।

निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् ।

निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन् । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो ।