images

अमेरिकाले आफ्नो आकाशमा देखिएको शंकास्पद वस्तु खसाल्यो

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु पनि लडाकु जहाज प्रयोग गरेर खसालेको छ ।

केही दिनअघि मानवरहित चिनियाँ बेलुन खसालेको अमेरिकाले अलास्का राज्यको आकाशमा उडिरहेको अर्को वस्तु पनि खसालेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ४० हजार फिट उचाइमा रहेको वस्तुलाई लडाकु विमानको प्रयोगबाट खसालिएको बताएका छन् । यो वस्तु के हो र कसरी त्यहाँ पुग्यो भन्नेबारे केही बताइएको छैन ।

केही दिनअघि अमेरिकाले चिनियाँ बेलुन खसालेपछि चीन र अमेरिकाबीच विवाद गहिरिएको छ । अमेरिकाले नखसालुन्जेल आफ्नो बेलुन नभएको दाबी गरेको चीनले पछि यो बेलुन मौसमसम्बन्धी जानकारीका लागि उडाइएको र भुलबस अमेरिकी एयर स्पेसमा पुगेको बताएको छ ।

तर अमेरिकी अधिकारीले उक्त बेलुनमा भेटिएका उपकरणहरु मौसमसम्बन्धी जानकारी राख्ने नभई जासुसी गर्ने प्रकृतिका रहेको दाबी गरेका छन् ।