images

भोली आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षाको हवला दिँदै प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ सर्जन डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गरेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

शुक्रबार ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले लाठी चार्ज गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

चिकित्सक संघको शनिबार बसेको आकस्मिक बैठकले विरोध स्वरुप आइतबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले भीभीआईपीको सवारी र सुरक्षाका नाममा घण्टौ जाम लगाएर नागरिकलाई सास्ती दिइएको भन्दै लोकतन्त्रमा लोकलाई नै दुःख हुने कार्य सदाका लागि अन्त्य गर्न माग गरेको छ ।

संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकमाथि लाठी चार्ज हुनु दुःखदायी भएको प्रतिक्रिया दिएको छ ।