images

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ ।

मन्दिर परिसरमा रङ रोगनको काम धमाभम भइरहेको देख्न सकिन्छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ ।

महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङरोगन र फूलहरुले सजाउन थालिएको छ । शिवरात्रीको लागि पशुपतिका गेटहरु सजाउने कार्य जारी रहेको छ भने वरपरका क्षेत्रहरुमा सरसफाईको काम भइरहेको छ ।