images

महाशिवरात्रिको तयारी पूरा, पाँच लाइनबाट दर्शन गर्न सकिने

काठमाडौं । भोलि हुने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ ।

शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन ।

यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तको लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्धसमेत मिलाइएको छ ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइँदै छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।