images

वीर अस्पतालको ‘बर्न वार्ड’ तीन महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष अर्थात् ‘बर्न वार्ड’ सञ्चालन गरिने भएको छ ।

२०७२ साल वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई समेत उपचार नगरि अरु अस्पतालमा रेफर गर्ने गरिएको थियो ।

ग्यास चुहिएर घाइते भएका सांसद डा. चन्द्र भण्डारीको नेपालमा उपचार सम्भव नहुँदा भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा लगेपछि सञ्चारमाध्यमले देशभित्र जलनको उपचार हुन नसकिरहेको अवस्थालाई प्राथमिकता साथ उठाएका छन् ।

वीर अस्पतालको नयाँ कार्यकारी निर्देशकमा शुक्रबार डा. सन्तोष पौडेल नियुक्त भएसँगै उनले नयाँ बनेको सर्जिकल भवनमा अत्याधुनिक बर्न वार्ड बनाउने निर्णय गरेका हुन् ।

अबको तीन महिनाभित्र जलनको उपचारका लागि अत्याधुनिक उपचार कक्ष सुरु गर्ने डा.पौडेलको दावि छ । अत्याधुनिक जलन वार्ड निर्माणपछि गम्भीर बिरामीलाई पनि वीर अस्पतालमै भर्ना गरी उपचार गरिनेछ ।

क्रिटिकल बर्नका बिरामीका लागि केयर, अप्रेसन थिएटर, आईसीयूलगायतका सुविधासहित उपचार हुने उनको भनाइ छ । वीरको बर्न वार्ड बन्द हुँदा अहिले जलनसम्बन्धी बिरामीको उपचार कीर्तिपुर अस्पतालमा हुँदै आइरहेको छ ।