images

नारायणगढ–मुग्लिन सडक १५ दिनसम्म बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि थप १५ दिन दिउँसोको समयमा बन्द हुने भएको छ । 

चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।

सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी रोकेर पहरो काट्ने काम गरिनेछ । यसअघि गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । 

त्यसपछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो । थप गरिएको समय आज सकिएको छ । तर काम नसकिएपछि सरोकारवालासँग छलफल गरी थप १५ दिन दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

तीन मुख्य ठाउँ कालीखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउने काम भइरहेको छ ।