images

गुणस्तरहीन सिलिण्डर बिक्री वितरणमा रोक

काठमाडौं । बाँके जिल्लाका दुईवटा ग्यास उद्योगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले संयुक्त अनुगमन गरेको छ ।

कार्यालयले प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरणमा रोक लगाएको छ । पछिल्लो समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिइएको छ ।

जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन निर्देशन दिएको छ । साथै कार्यलयले म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा दुई सय १० ग्यास सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।

यसैगरी भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय सिलिण्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ ।

ग्यास सिलिण्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाइ गर्दै यसअघि नै सिलिण्डरको तौल, गुणस्तर जाँच गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको थियो ।