images

प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग

काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ ।

एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए । सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ ।

विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश छन् ।