images

चितवनमा सात महिनामा १४ गैँडा मरे

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा चितवनमा १४ गैँडा मरेका छन् ।

निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् ।

चालु आर्थिक वर्षमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो । अन्य कालगतिले मरेका हुन् ।

चोरी सिकारीले गैँडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ । यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ ।

सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन् ।