images

राष्ट्रपतिमा साझा उम्मेदवार तय गर्न दलहरुबीच आज निर्णायक वार्ता

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर वर्तमान सत्ता गठबन्धन विघठनको संघारमा छ । आज राष्ट्रपतिमा साझा उम्मेदवार चयन गर्न मुख्य राजनीतिक दलका शीर्ष नेताहरू निर्णायक वार्ता गर्ने तयारी गरेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रपति निर्वाचनमा सबैभन्दा धेरै मत भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दोस्रो धेरै मत भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने तयारी गरेका छन् ।

बिहीबार साँझ सिंहदरबारमा बसेका माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकले शुक्रबार बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने सहमति गरेको थियो । त्यसै अनुरुप बिहान बैठक बस्ने तयारी भए पनि कहाँ र कति बेला बस्ने निश्चित भएको छैन ।

शुक्रबार बस्ने बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् । कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित हुने नेताहरूको भनाइ छ ।

२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् । भोलि उम्मेदवारी दर्ता गरिसक्नु पर्ने भएकाले आजै सहमतिमा उम्मेदवार टुंगो लगाउने तयारीमा दलहरू छन् ।

प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भेटवार्ता भने औपचारिकतामा मात्रै सीमित हुने उनी निकट नेताहरू बताउँछन् । एमाले अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गर्दै एमालेसमेत सहभागी वर्तमान सरकारले फागुन १ गते जनयुद्ध दिवसको दिन दिइएको सार्वजनिक बिदा गलत भएको बताएका छन् ।

तर, पुरानो गठबन्धन ब्यूताउँदा पनि कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्नेमा दलहरूबीच कुरा मिलेको छैन ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा दाबी गरिरहेका छन् । यता सबैभन्दा धेरै मत भएको कांग्रेसले पनि राष्ट्रपति आफूले पाउनु पर्ने बताइरहेको छ ।