images

यू–१९ विश्वकप एसिया छनोट : मलेसियामाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा मलेसियामाथि नेपालले शानदार जित निकालेको छ। मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो ।

मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

यो जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

अब नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । यूएईलाई हराएमा नेपाल समूह विजेता बन्दै विश्व कपमा छनोट हुनेछ ।

१९ वर्षमुनिको विश्व कप आउँदो वर्ष श्रीलङ्कामा हुँदैछ । यो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।