images

पृथ्वी शाह र उनको समूहमाथी ४ वटा मुद्दा चलाउन सीआईबीको सुझाव

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमा रहेका व्यक्तिविरुद्ध ४ वटा मुद्दा चलाउन राय दिएको छ ।

बुधबार सीआईबीले पत्रकार सम्मेलन गरी शाह, उनका भाइ विजयबिक्रम शाहसहितका व्यक्ति विरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो ।

सीआईबीका अनुसार पृथ्वीबहादुर शाह विरुद्ध लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ । त्यस्तै विजयबिक्रम शाहविरुद्ध सहकारी ठगी, लिखत कीर्ते गरेको, ठगी र संगठित अपराधको मुद्दा चलाउन राय दिएको छ ।

ठगी र संगठित अपराधमा शाहसँगै पक्राउ परेका ७ जना र फरार रहेका १३ जनाविरुद्ध मुद्दा चलाउन भनिएको छ । अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो । शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ । जसमध्ये १ करोड २८ लाख ९३ हजार ८५ रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।