images

रास्वपा सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको छ । गत माघ १३ गते सर्वोच्चले लामिछानेले नेपालको नागरिकता पुनः प्राप्ति गर्नुपर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसदसहितका बहाल रहेका पद खारेज गरिदिएको थियो ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई नदिइएको सर्वोच्चको ठहर छ ।

माघ १३ गते जारी संक्षिप्त आदेशमा दोहोरो पासपोर्टको विषय उल्लेख गरिएको थिएन । फैसलाको पूर्णपाठमा यो विषय सम्बन्धित निकायबाट छानबिन भइरहेकाले सोही क्रममा निरुपण हुने उल्लेख गरिएको छ ।

यो विषय तत्काल प्रचलित राहदानी ऐन, २०२४ र हाल प्रचलित राहदानी ऐन, २०७६ मा व्यवस्थित झुठ्ठा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएको सम्बन्धी प्रावधानका सन्दर्भमा प्रचलित कानुनबमोजिम निरुपण गरिनुपर्ने विषय देखिएको र गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं समेतका प्रत्यर्थीहरुको लिखित जवाफबाट राहदानीको विषयमा छानबिन भइरहेको भन्ने तथ्य समेत खुल्न आएको फैसलाको पूर्णपाठमा भनिएको छ ।