images

निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री श्रेष्ठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए ।

मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्ने तर्फपनि सचेत गराए । उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफु जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्युनिकरण गर्नु सरकारको कार्यभार रहेको बताए । उनले निर्माण व्यवसायीहरुलाई आफ्नो निवासमा नभेट्ने भन्दै कसैको उपेक्षा नगरेको बताए । उनले व्यवसायीहरुसँग मन्त्रालयमा सामुहिक रुपमा मात्रै भेट्ने गरेको स्पष्ट पारे । मन्त्री र निर्माण व्यवसायीहरु मिलेर काम गर्नुपर्ने तर मिलेमतो गर्नु नहुने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले आफुले कुनैपनि निर्माण व्यवसायी तथा पुँजीपतिहरुसँग आजसम्म दैनिक जीवन चलाउन र चुनावी खर्च समेत नलिएको बताए ।