images

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना सङ्क्रमण बढ्यो सबैले खोप लगाउनुस्

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेकाले खोप लगाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् ।

केही दिनअघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १।१६ देखा परेको छ ।
मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ ।

काठमाडौंमा अहिले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ ।