images

९२ दशमलब २२ अंकले बढ्यो नेप्से, दोब्बरले बढ्यो कारोबार रकम

काठमाडौं । सेयरबजार आज ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ९२ दशमलब २२ अंकले नेप्से बढेर १ हजार ९ सय ६३ दशमलब ५५ विन्दुमा पुगेको हो ।

लगातार ओरालो लागिरहेको सेयरबजारमा बुधबार नेपाल बैंकर्स संघले गरेको निक्षेप ब्याजदर एकल अंकमा झार्ने निर्णयको सकारात्मक प्रभाव देखिएको हो । सो निर्णयसँगै बजार ४ दशमलब ९३ प्रतिशतले उकालो लागेको हो ।

आज कुनै पनि कम्पनीका लगानीकर्ताले लागानी गुमाएका छैनन् । सबै २ सय १८ कम्पनीको सेयर मूल्य बढेको हो ।

योसँगै कारोबार रकम पनि दोब्बरले बढेको छ । अघिल्लो दिन १ अर्बको पनि खरिदबिक्री नभएकोमा बुधबार भने १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको हो । दिनभरिमा ४७ हजार पटक खरिदबिक्री भएको छ भने ६० लाख बढी कित्ता सेयर किनबेच भएका छन् ।

आज पाँचवटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेको छ । तिनमा सिद्धार्थ इक्विटी फन्ड, सिटिजन म्युचुअल फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, आदर्श लघुवित्त र खप्तड लघुवित्त रहेका छन् । आज बजारमा शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको ११ करोड ७१ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।