images

व्यापक विरोधपछि फ्रान्समा पेन्सन पाउने उमेर बढाइयो, सेप्टेम्बरदेखि लागू हुने

एजेन्सी । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ ।

निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ ।
देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेका हुन्। उनले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको बताएका छन्।

परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरे पनि प्रस्तावित कानुनका केही त्रुटी औँल्याएको छ ।

परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनकारीले आगो बालेर विरोध गरेका छन् । प्रहरीले एक सय १२ जनालाई पक्राउ गरेको छ ।

पेन्सन सुधार योजनाविरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए । कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही वैशाख १८ गते अर्थात् मे दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् ।