images

मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्रीलाई सकस, तीन मन्त्रालयमा नेकपा एसको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

यसअघि प्रधानमन्त्री दाहालले सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि सरकारले पूर्णता पाउन सकेको छैन । अझै ६ मन्त्रालय रिक्त छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शनिबार बिहान प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका छन् । तर एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिना निष्कर्ष सकिएको छ ।

आजै बेलुका फेरि बैठक बसेर टुंगो लगाइने बताइएको छ । यसअघि एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनिसकेका छन् ।

बिहानको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत यी दलका नेताहरु सहभागी थिए ।

छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि सहभागी थिए । यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ पनि उपस्थित थिए ।