images

नेप्सेमा यो साता उत्साहजनक सुधार, ६ अर्ब ६५ करोड बराबरको सेयर किनबेच

काठमाडौं । लामो समयदेखि ओरालो गतिमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता भने उत्साहजनक सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा आर्थिक स्थिति ठिकठाक देखिएपछि सेयर बजारले लय समातेको हो । यसबाहेक, वैशाखदेखि ब्याजदर एकल अंकमा ल्याउने निर्णयले समेत सेयर बजार बढाउन मलजल गरेको छ ।

बैंकर्स संघको बैठकले वैशाखदेखि ब्याजदर १० प्रतिशतभन्दा तल ल्याउने निर्णय गरेको थियो । यो निर्णयपछि, एकैदिन नेप्से ९२ अंकले उकालो लागेको थियो । गत साताको शुक्रबार १८६७ अंकमा रहेको नेप्से सूचक ३ प्रतिशतको वृद्धिसँगै १९३४ अंकमा पुगेर रोकिएको छ ।

यो साता कारोबार भएको ५ मध्ये ३ दिन परिसूचक उकालो लागेको थियो । यससँगै, परिसूचक उच्च अंकले बढेर बन्द भएको हो । यसक्रममा कारोबार रकम पनि बढेको छ । साताभरमा करिब ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जबकी, गत साता ४ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से परिसूचक र कारोबार रकम दुवै बढेपछि नेप्सेको पूँजीकरण समेत बढेको छ । गतसाता २७ खर्ब ४ अर्बमा आइपुगेको नेप्से पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब पुगेको छ ।