images

आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ ।

‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो । विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको तर विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउने शिक्षा मन्त्रालयले जनाएको छ ।

भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

यसवर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १ देखि ५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६ देखि १० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् ।

केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको जनाएको छ । निजी मुद्रणले कक्षा १ देखि ५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् ।

वैशाखको पहिलो हप्ताभित्र नै सबै जिल्लामा पुस्तक पुर्याउने सरकारको दाबी छ । देशभर सामुदायिक, संस्थागत र धार्मिक गरी ७२ हजार ८ सय ९५ वटा विद्यालय छन् । यी विद्यालयमा झण्डै ८१ लाख ६ हजार विद्यार्थी अध्ययनरत छन् ।