images
images

डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् विष पठाएको आरोपमा क्यानडाकी एक महिलालाई झण्डै २२ वर्ष जेल सजायँ

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ ।

५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेका थिए ।

सो चिठीमा रिसिन नामको विष रहेको पत्ता लागेको थियो । लगत्तै उनी पक्राउ परेकी थिइन् ।

फेरियरले अदालत समक्ष आफूले जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकारसमेत गरेकी थिइन । तर उक्त जैविक हतियार ट्रम्पसम्म पुग्न नपाएकोमा आफू दुःखी भएको उनले बताएकी थिइन् । फेरियरले जेल सजायँ भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने बीबीसीले जनाएको छ ।