images

 उपसभामुख काठमाडौं हिंडेपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत नलिने भएका छन् ।

विराटनगरमा सर्वदलीय बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री थापाले सबैसँग सल्लाह गरेर अर्को दिन विश्वाशको मत लिने बताएका हुन् ।

‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो, उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’ मुख्यमन्त्री थापाले भने ।

थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताए ।

बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ । विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय दिएको छ । त्यो अवधिभित्र विश्वासको मत लिन्छौँ,’ थापाले भने ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको हो । थापाले आज विश्वासको मत लिने कार्यसूची तय भएपछि उपसभामुख दनुवार काठमाडौं हिंडेकी हुन् ।