काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्ध गरेका छन् ।
चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै उनले चीन भ्रमण रद्द गर्ने निर्णय गरेका हुन् ।
चीनको निमन्त्रणामा मेयर साह ५ दिने भ्रमणमा चीन जाँदै थिए । तर चीनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै नैतिकताको आधारमा चीन नजाने फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’