images

कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा उत्पन्न तनाव बढ्न नदिन मलंगवामा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो भने शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको हो ।

कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।