images

प्रविधिको दुरुपयोगबाट सुरक्षा चुनौती बढ्यो : प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारी

हेटौँडा । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले विज्ञान तथा प्रविधिको आविष्कारसँगै चुनौतीसमेत थपेको बताएका छन् ।

बुधवार प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशको अनुगमन तथा मूल्याङ्कन र अन्तरक्रिया छलफलका क्रममा उनले प्रविधिको दुरुपयोगबाट सुरक्षा चुनौती बढिरहेको बताए । उनले सो चुनौतीलाई चिर्न प्रहरीले परिष्कृत ढङ्गबाट काम गर्नुपर्ने पनि बताए ।

प्रविधिको दुरुपयोगबाट हुने अपराधका घटना नियन्त्रणका लागि प्रहरी अनुसन्धान र कारबाहीका लागि सोही अनुसारको सिस्टम विकास गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय आर्थिक र साइबरका घटना बढिरहेको उनले बताए । विगतमा २० प्रतिशतको हाराहारीमा रहेको बैङ्किङ कसुरसम्बन्धी घटना हाल ८० प्रतिशतले बढेको उनले बताए ।

साइबर सुरक्षासम्बन्धी बढ्दो घटनाका दरलाई मध्यनजर गर्दै प्रहरीले जिल्ला–जिल्लामा नै साइबर अपराध सम्बन्धी मुद्दा दर्ता तथा अनुसन्धान गर्ने वातावरण निर्माण गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले बताए । लागू औषध प्रयोग तथा कारोबारका घटना तीव्र रहेकाले सो को नियन्त्रणमा स्थानीय सरकारसँगको सहकार्य जरुरी रहेको उनले बताए ।

प्रहरीले लागू औषध दुर्व्यसनी नियन्त्रण अभियान सुरु गरेको प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले बताए । प्रहरी निकायमा अस्तव्यस्त अवस्थामा रहेको नियन्त्रणमा लिइएका सवारी क्लियर गर्ने पहल भइरहेको उनले बताए । सो सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको र क्याबिनेटबाट पास भएपछि काम अघि बढ्ने उनको भनाई छ ।

‘बढ्दो अपराधको दर अनुसार साइबरको कानुनले मात्र हेर्ने हो भने प्रहरीले धान्छ वा धान्दैन भन्ने प्रश्न छ । त्यसैले अपराध र दण्डहीनता अन्त्यका लागि नागरिकसँगको सहकार्य जरुरी छ । सामुदायिक प्रहरीलाई संस्थागत गरेर अघि बढिरहेका छौ’ उनले भने, ‘लागु औषध गाँजाको प्रयोग र कारोबार नियन्त्रणका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सक्रिय बनाउनुपर्छ । प्रहरीबाट मात्र सबै कुरा सम्भव छैन । सरकार र नागरिकको सहकार्यबाट सुधार गर्नुपर्छ । गाँजा लिगल गर्दा प्रयोजन, त्यसका मापदण्ड र पूर्वाधार निर्माणका विषयमा सोच्नु पर्छ ।’

प्रहरी कर्मचारीको दरबन्दी कम हुँदा शान्ति सुरक्षासँगै ट्राफिक व्यवस्थामा प्रभाव परेको उनले बताए । कायम रहेको दरबन्दीलाई पूर्णता दिएर नागरिकहरूमा स्तरीय सुरक्षाको प्रत्याभूतिमा नेपाल प्रहरी सक्रिय रहेको उनको भनाइ छ । उनका अनुसार प्रहरी संयन्त्रमा रहेको जनशक्ति अभावलाई व्यवस्थापनका लागि काम भइरहेको र त्यसका लागि गृह र अर्थ मन्त्रालयसँग समन्वय चलिरहेको छ । प्रहरी सङ्गठनका समस्या सुधार र व्यवस्थापनका लागि नीतिगत सुधारका काम जारी रहेको उनले बताए ।

जनताको माग अनुसार पुलिसले काम गर्नुपर्नेमा उनले जोड दिए । समाज परिवर्तनका लागि अपराध र तस्करको लेयर तोड्न जरुरी रहेको र अपराध अनुसन्धानलाई अन्तिमसम्म पुर्याउन सके मात्र प्रहरी सफल हुने उनले बताए ।

उनले प्रहरीको क्रियाकलाप अडिट गर्नुपर्ने र त्यसका लागि आम नागरिक र सरोकारवाला निकायबाट अनुगमन गरिदिन आग्रह गरे । प्रहरी सङ्गठन सुधारको अभियान जारी रहेको र आम नागरिकबाट भएका अनुगमनका आधारमा गलत काम गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । -रासस