images
images

अन्नपात र भैंसी बेचेर विद्यालय पुनःनिर्माणमा सहयोग, देशविदेशबाट दुई करोड चन्दा संकलन

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ ।

विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गरेर जनसहभागीतामूलक विकासको नमूना प्रस्तुत गरेका हुन् ।

विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ । छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताए । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनःनिर्माणसँगै हटेको छ ।

गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए ।

“प्रवासमै रहेका स्थानीयवासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, सङ्घ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो”, प्रअ जिसीले भने । ।

विद्यालय भवन पुनःनिर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष रत्न जिसीले बताए । समुदायको अग्रसरतामा सङ्घ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुनःनिर्माणमा राहत भएको उनको भनाइ छ ।

भवन बनाउने अभियानमा नगद रु पाँच सयदेखि रु १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए । उनका अनुसार, पुनःनिर्माण भएको विद्यालय भवनको एक समारोहका बीच उद्घाटन गर्ने तयारी छ । उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिनेछ ।

विद्यालय भवन पुनःनिर्माणमा समुदायका मात्रै दुई सय १२ चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा सङ्कलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनःनिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् ।

विद्यालय भवन पुनःनिर्माणमा करिब रु तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट रु तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कूल लागतको आधाभन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीवासीकै नेतृत्व र अगुवाइमा जुटाइएको हो । विद्यालयलाई चन्दादातामार्फत थप सहयोग आउने क्रम जारी छ ।

नेपाल सरकारका विभिन्न निकायबाट रु एक करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट रु ९५ लाख, विभिन्न सङ्घ संस्थाबाट रु नौ लाख र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा रु ६२ लाख सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमले रु ३८ लाख सहयोग गरेको विद्यालयले जनाएको छ ।

पुरानो भवन जीर्ण भएकाले गाउँका सबै सरोकारवाला र प्रवासीबीच बृहत् छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधासम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष पदमबहादुर पुनले बताए ।

“विसं २०४५ मा बनाइएका साँघुरा भवनमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाइमा विद्यालय पुनःनिर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयवासी र प्रवासी भकिम्लीवासीले मन फुकाएर सहयोग गर्नुभयो, सङ्घ संस्था र सरकारी तवरबाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेको छ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ”, उनले भने ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS