images
images

चलचित्र ‘दिमाग खराब’मार्फत आम मानिसको कथा देखाउने प्रयास गरेको छु : निश्चल बस्नेत

काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाएका थिए– निश्चल बस्नेत ।

निर्देशकसँगै अभिनेता, गायकलगायतका विविध विधामा आफ्नो कौशलता देखाएका बस्नेतले नयाँ चलचित्र ‘दिमाग खराब’ तयार गरेका छन् । कुनै समय पर्दा पछाडी रहेर काम गर्ने निर्देशक भए पनि पर्दा अगाडिका अभिनेताभन्दा बढी लोकप्रियता हासिल गरेका बस्नेतले निकै कम चलचित्र निर्देशन गरेका छन् ।

आफूमा दर्शकले गर्ने विश्वासले पनि विषयवस्तु चयनमा समय लाग्ने गरेको उनले बताए । “म आम मानिसकै कथा भन्न रुचाउँछु । त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो”, निर्देशक बस्नेतले भने, “मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहीँ प्रयास छ ।”

उनले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए । “देशको परिस्थितिले एउटा सरल जीवन चाहने आम मानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ । यद्यपि यो राजनीतिक नभई सामाजिक विषयमा तयार गरिएको चलचित्र हो”, निर्देशक बस्नेतले भने ।

चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक बस्नेतकी श्रीमतीसमेत रहेकी अभिनेत्री खड्काले चलचित्रमा काम गरेसँगै एउटा प्रश्नको अन्त्य भएको बताएकी छन् ।

उनले भनिन्, “मलाई जहिले निर्देशक बस्नेत (श्रीमान्)को चलचित्रमा कहिले काम गर्ने ? उहाँले लिनु हुँदैन ? भनेर सोधिने प्रश्नको अन्त्य भएको छ । यसपटक आफ्नै श्रीमान् निर्देशक हुँदा केही भिन्न महसुस गरेता पनि मैले निर्देशकले भनेअनुरुप नै काम गरेकी छु, यो एउटा कलाकारको दायित्व पनि हो ।” अभिनेत्री खड्काले चलचित्रले उठान गरेको विषयले मनोरञ्जनका साथै सन्देश पनि दिने बताइन् ।

अभिनेता लामिछानेले आम मानिस भएर पर्दामा देखिन रूचि रहेको बताए । “मैले चाहेको जस्तो पात्र पाएको छु । मैले पनि अभिनेत्री खड्काजस्तै लेखक र निर्देशकलाई साइड लगाएर पूर्णरूपमा अभिनेता भएर निर्देशककै अनुसार आफ्नो पात्रलाई तयार गरेको हुँ । यो एउटा साधारण व्यक्तिको जीवनशैलीसँग जोडिएको चलचित्र हो ।” उनले भने ।

कात्तिक २४ मा प्रदर्शन तय गरिएको चलचित्रमा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के वाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् । रासस